कर्णाली र सुदूरपश्चिम जोड्न कर्णाली नदीमा दुई पुल निर्माण


कर्णाली नदीमाथि सुदूरपश्चिम र कर्णाली प्रदेश जोड्ने थप दुई पक्की पुल निर्माण सम्पन्न छन् । सुदूरपश्चिम प्रदेशको कैलाली र कर्णाली प्रदेशको सुर्खेत जिल्ला जोड्ने पुल बनेका हुन् । पुल निर्माण हुँदा आवतजावतमा सजिलो हुनुका साथै व्यापार व्यवसाय प्रवद्र्धनमा पनि सहज हुने जनाइएको छ ।

सुर्खेतको पञ्चपुरी नगरपालिका–११ कुइने र कैलालीको मोहन्याल जोड्ने कर्णाली नदीमा पक्की पुल निर्माण भएपछि तराई, पहाड र हिमाली जिल्लाका नागरिकलाई सहज हुनेछ । सुदूर र कर्णाली प्रदेशका पहाडी जिल्लाका बासिन्दाले पैदलयात्रा गर्दै आएको सुर्खेतको कुइने–चिसापानी बाटोमा कर्णालीवारि र पारि सडक सञ्चालनमा छन् ।

सो बाटो भएर कैलाली र सुर्खेतका नागरिकमात्र आवतजावत गर्ने नभई सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लाका नागरिक पनि हिँड्ने गर्छन् । सुर्खेतको पञ्चपुरी नगरपालिका–१० का वडाध्यक्ष हरिप्रसाद ढकाल घाटगाउँ, गल्टा, तातापानी जोड्नेमात्र पुल नभई दैलेख, अछाम, कालिकोट, हुम्ला, जुम्लाका मानिसलाई पनि यो पुलले सहज हुने जानकारी दिए । “पहिला डुङ्गाबाट तर्नुपथ्र्यो त्यसमा निकै असहज हुन्थ्यो । डुङ्गा तर्नुपर्दा दुईदेखि चार दिनसम्म कुर्नुपर्ने बाध्यता थियो”, उनले भने, “अहिले धेरै सहज भएको छ । यो बाटोमात्र नभई अछाम, दैलेख, कालिकोट, हुम्ला, जुम्लाका मानिसलाई तराईसँग जोड्ने माध्यम पनि हो ।”

यी बाटाहरू पुराना बाटाका रूपमा चिनिएका बाटा हुन् । विगतमा यी बाटा भएर हिँड्ने नागरिकले निकै नै कष्टकररूपमा यात्रा गर्नुपथ्र्यो । कर्णाली नदीमा झोलुङ्गे पुल पनि नहुँदा दुई–तीन दिन कुरेर डुङ्गाबाट नदी तर्ने गरिन्थ्यो । पुल बनेपछि सबै समस्या समाधान भएका चौकुने गाउँपालिका–१० का वडाध्यक्ष नन्दराम खनालले बताए। “यो धेरै पुरानो बाटो हो । विगतमा घोडा चढेर आउने, डुङ्गा कुर्नुपर्ने बाध्यता थियो । तर अहिले जतिखेर हिँडे पनि सजिलो छ”, उनले भने, ‘‘पहाडी जिल्लाका मानिसलाई पुल बनेपछि निकै सहज भएको छ ।” Sources


प्रकाशित : २०७९ श्रावण २, सोमबार

प्रतिक्रिया
भर्खरै प्रकाशित
सम्बन्धित खवर