घट्दै बिमा कम्पनी


बैंक तथा वित्तीय संस्थाको मर्जरको लहर पच्छयाउँदै बिमा कम्पनीहरु पनि मर्जरमा जान थालेका छन् । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जर भएर आइतबारबाट औपचारिक रुपमा एकीकृत कारोबार सुरु भएको छ ।

नेपाली बिमाको इतिहासमा पहिलोपटक दुई वटा बिमा कम्पनीहरु मर्जर भएर एकीकृत कारोबार सुरु गरेसँगै नेपाली बजारमा बिमा कम्पनीहरूको संख्या घट्ने भएको छ । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जर प्रक्रिया पूरा गरेर बिमा समितिले मर्जर स्वीकृति दिएसँगै आइतबारबाट एकीकृत कारोबार शुभारम्भ भएको हो ।

एकीकृत कारोबारको शुभारम्भ बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले औपचारिक रुपमा गर्दै बिमा कम्पनीहरुमा अस्वस्थ प्रतिष्पर्धा तथा अहिले कायम रहेको बिमा कम्पनीको पुँजीले बढ्दै गएको दायित्व वहन गर्न नसक्ने भएकाले बिमा कम्पनीको मर्जर जरुरी भएको बताए । उनले बिमा कम्पनीले पोलिसी बेच्ने तर पोलिसी अनुसार दायित्व वहन गर्न नसक्दा सिंगो बिमाको बजार बदनाम भएको तथा बिमा कम्पनीप्रतिको विश्वसनियतामा कमी भएकोले बिमा क्षेत्रमा धेरै सुधार गर्नुपर्ने आवश्यकता रहेको जिकिर गरे । नेपालमा कतिवटा बिमा कम्पनीहरु चाहिन्छ भनेर हालसम्म अध्ययन नै नभएको भन्दै उनले अब बिमा समितिले अध्ययन गर्ने बताए ।

अध्यक्ष सिलवालले सरकारले नै बिमा नबुझेको आरोप पनि लगाए । उनले सरकार र सरकारले गरेका अहिलेसम्मको लगानीको बिमा नभएको भन्दै चालू आर्थिक वर्षको बजेटमा बजेटको विषयमा धेरै कुराहरु समावेश भएर आएको र राष्ट्रिय बिमा नीति समेत मन्त्रालयमा ड्राफ्ट बनाएर दिएको बताए ।

कार्यक्रममा हिमालयन इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर साहले बिमा कम्पनीहरुले पुँजी वृद्धि गरेर मर्जरमा जाँदा बिमालाई सुधार र उचाइ बढाउने दाबी गरे । हिमालयन र एभरेष्ट दुवै कम्पनीको गत असार २ गते सम्पन्न विशेष साधारणसभाबाट मर्जरसम्बन्धी सम्पूर्ण प्रक्रिया पारित भएका थिए । बिमा समितिले यी दुवै कम्पनीको मर्जरलाई गत असार ८ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो । दुई संस्थाको मर्जर हुने अन्तिम दिनसम्म कायम रहने सम्पूर्ण सम्पत्ति र दायित्वहरु नयाँ बन्ने संस्था हिमालयन एभरेष्ट इन्स्योरेन्सले स्वीकार्ने गरी गत असार २३ गते स्वीकृति प्राप्त भएको थियो । दुवै बिमा कम्पनीबीच गत वैशाख २२ गते मर्जरमा जाने प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो । मर्जरपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ पुगेको छ ।

बिमा समितिबाट क समयमा भटाभर छुट लगायत विभिन्न सेवा सुविधा पाउने आशले कम्पनीहरुले अन्तिम मर्जरको लागि सम्झौता गरेका छन् । जसका कारण पुनर्बिमा कम्पनी बाहेक ३९ वटा बिमा कम्पनीहरुमध्ये १९ वटा कम्पनी मर्जरमा जाने भएका छन् । असार महिनामा निर्जीवन बिमाका १० वटा र जीवन बिमाका ९ वटा कम्पनीले मर्जरमा जान प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरिसकेका छन् ।

मर्जरमा जाने तयारी गरेका निर्जीवन बिमा कम्पनीमा एभरेष्ट, प्रिमियर, सगरमाथा, लुम्बिनी जनरल, सिद्धार्थ, जनरल र सानिमा जनरल इन्स्योरेन्स तथा प्रभु र अजोड इन्स्योरेन्समध्ये सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सबीच मर्जरमा जाने सहमति भइसकेको छ । मर्जपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्ने गरी दुई कम्पनीबीच सहमति भएको छ । सानिमा जनरल र जनरल इन्स्योरेन्सबीच सानिमा जनरल इन्स्योरेन्सको नाम रहने गरी मर्जर सम्झौता भएको छ । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स पनि १०० बराबर ८० को स्वाप रेसियोमा मर्जरमा जाने भएका छन् । त्यस्तै, प्रभु र अजोड इन्स्योरेन्सले मर्जरमा जानको लागि सम्झौता गरेका छन् ।
यस्तै, जीवन बिमातर्फ ९ वटा कम्पनीले मर्जरमा जानको प्रारम्भिक समझदारी गरिसकेका छन् । जसमा प्रभु र महालक्ष्मी लाइफ, सूर्या र ज्योति लाइफ, रिलायन्स र सानिमा लाइफसहित प्राइम, गुराँस र यूनियन लाइफले एक आपसमा मर्जरमा जानको लागि पहिलो चरणमा सम्झौता गरेका हुन् ।

कम्पनीहरु मर्जरमा जानुको कारण समितिले चुक्ता पुँजीमा गरेको वृद्धि नै हो । बिमा समितिले निर्जीवन बिमा कम्पनीको न्यूनतम पुँजी साढे २ अर्ब रुपैयाँ र जीवन बिमा कम्पनीको न्यूनतम चुक्ता पुँजी ५ अर्ब पु¥याउने व्यवस्था गरेको छ । जसको लागि पहिलो प्राथमिकतामा मर्जर नै थियो । यद्यपि पुँजी पु¥याउनकै लागि गरिएको मर्जरपछि बन्ने अधिकांश कम्पनीहरुको चुक्ता पुँजी भने पुगेको छैन । बिमा समितिले तोकिएको पुँजी पु¥याउनको लागि कम्पनीहरुलाई आगामी चैतसम्मको समय दिएको छ । उक्त समयभित्रमा मर्जरमा गएका कम्पनीहरुले हकप्रद तथा बोनस सेयरमार्फत न्यूनतम पुँजी पु¥याउन सक्ने छन् ।

तर, बिमा कम्पनीको मर्जर सम्झौताले उनीहरुको सेयर कारोबार बन्द भएको छ । जसका कारण सेयर लगानीकर्ताको १ खर्ब २४ अर्ब २४ करोड ९१ लाख बन्धक भएको छ । बिमा कम्पनी मर्जरमा गएसँगै लगानीकर्ताको सम्पत्ति बन्धक बनाइनु उचित नहुने नेपाल उद्योग वाणिज्य महासंघको पुँजीबजार फोरमका सभापति अम्बिका प्रसाद पौडेल बताउँछन् । तर, नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमाल भने मर्जरमा जाने कम्पनीहरुको दोस्रो बजार कारोबार निश्चित अवधिका लागि रोक्का हुनुपर्ने बताउँछन् ।

आइतबार हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीचको मर्जरपछि बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्सको एकीकृत कारोबार शुभारम्भ समारोहलाई सम्बोधन गर्दै अध्यक्ष हमालले मर्जर प्रयोजनका लागि हुने कारोबार रोक्का गरिने सेयरधनीको हितमै हुने दाबी गरे । कारोबार लामो समय नराकियोस् भनेर धितोपत्र बोर्ड र हालै गठित टास्क फोर्सले काम गरिरहेको उल्लेख गर्दै हमालले यस विषयमा चाँडै केही सहज व्यवस्था आउने पनि बताए ।Sources


प्रकाशित : २०७९ श्रावण २, सोमबार

प्रतिक्रिया
भर्खरै प्रकाशित