शिवजीको प्रिय महिना साउन , के के गर्न सकिन्छ ब्रतमा


भगवान शिवको प्रिय महिना साउनको पहिलो सोमवार आराध्यदेव पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ । विहानैदेखि भक्तजनहरुको उल्लेख्य उपस्थिती छ । मन्दिर परिसरमा भक्तजनहरु शिव पूजनका लागि फूलमाला र अक्षता बोकेर पशुपतिनाथ पुगेका थिए ।

सूर्य मिथुन राशि भएर कर्कट राशीमा प्रवेश गरेको र दक्षिणायन शुरु भएको यो महिनामा भक्तजनहरु महादेवका मन्दिरमा गएर पूजा आराधना गर्दछन् । यसो गरेमा सम्पूर्ण मनोकामना पूरा हुने जनविश्वास रहेको छ । विशेषगरी युवा महिलाको उल्लेख्य सहभागिता रहेको छ ।

के छ महत्व ?
धर्म ग्रन्थहरूमा उल्लेख गरिए अनुसार श्रावण महिनालाई एकदमै पवित्र महिनाको रूपमा मानिन्छ । श्रावण महिनामा भगवान शिव पृथ्वी भ्रमण गर्न आउने हुनाले श्रावण महिनामा शिव भगवानको पुजा आराधना गरिन्छ । श्रावण महिनाको सोमबार ब्रत बसेर विधि पूर्वक शिव भगवानको पुजा गर्नाले मनोकामना पुरा हुने, दीर्घायु, सुख, शान्ति, एश्वर्य, धन धान्य र मान सम्मान प्राप्ती हुने विश्वास गरिन्छ । विशेषगरी विवाहित महिलाहरूले आफ्नो श्रीमानको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै ब्रत बस्ने गर्दछन् भने अविवाहित महिलाहरूले सुयोग्य वरको कामना गरी ब्रत बस्ने गर्दछन् ।

कहिलेदेखि सुरू भयो ब्रत बस्ने चलन ?
श्रावण महिनामा सेमबारको दिन ब्रत बस्ने चलन शिव र पार्वतीको सम्बन्ध रहेसँगै सुरू भएको ग्रन्थहरूमा उल्लेख गरिएको छ । श्रावण महिनालाई धार्मिक दृष्टिकोणले पनि उत्तम र पवित्र मानिन्छ ।

किन लगाइन्छ रातो, हरियो र पहेँलो ?
भगवान शिवलाई हरियो, रातो र पहेँलो रङ्ग मनपर्ने मान्यता भएकाले श्रावण महिनाको सुरूवात भएसँगै महिलाहरूले हरियो रङ्गका वस्त्र र चुरा पोतेहरू लगाउने गर्दछन् । हरियो रङ्गलाइ सौभाग्यको रङ्ग पनि भनिन्छ । श्रावण महिना हरियालीको महिना र प्रकृतिसँग आफुलाई जोड्ने महिना रहेकाले हरियो रङ्गका कपडाहरू लगाएर प्रकृतिसँग नजिक हुने गरिन्छ । जसले गर्दा प्रकृतिको साथ रहने र भाग्यमा समेत सकारात्मक प्रभाव पर्ने मान्यता रहेको छ ।

ब्रत बस्दा के गर्ने के नगर्ने ?
-बिहान छिट्टै उठ्ने,
-शुद्ध वस्त्र लगाउने,(काले वस्त्र कहिल्यै नलगाउने)
-एकछाक मात्र भोजन गर्ने,
-पुजाको थाली तयार गर्दा चामल, बेसार, मेहेन्दी, अबिर, सिन्दुर, कपुर, धुपबत्ती, धतुरोको पुष्प, मह, काँचो दुध, भष्म ९खरानी०, गंगाजल, बेलपत्र, अष्टगन्ध, चन्दन आदि समावेश गर्ने,
-भगवान शिवलाई रातो फुल नचढाउने, (निलो र सेतो फुल भगवान शिवको प्रिय फुल हो)
-शुद्ध आसनमा बसी शिव भगवानको ध्यान गर्ने, पाठ पढ्ने र हातमा अक्षता र फुलपाती लिएर सङ्कल्प गर्ने,
-तामाको थालिमा बेलपत्र राखेर त्यसमाथी शिवलिङ्ग स्थापना गर्ने,
-शिवलिङ्ग स्थापना गर्दा घरभित्र नभएर घरको आँगनमा स्थापना गर्ने यदि घरमा सम्भव नभए शिवको मन्दिर जाने ।

के खाने के नखाने ?
खान हुने . आलु, दही, फलफुल, फलफुलको जूस, दुधमा बदाम भिजाएर, कागती पानी, शुद्ध दुधमा पकाएको साबुदाना
खान नहुने . मुसुरोको दाल, भ्यान्टारबैगुन, लसुनरप्याज, च्याउ, अण्डा, माछा(मासु)


प्रकाशित : २०७९ श्रावण २, सोमबार

प्रतिक्रिया
भर्खरै प्रकाशित