कस्तो होला नुवाकोटको चुनावी तालमेल ?


माओवादी केन्द्रमा संघीय सांसदमा भन्दा प्रदेश सभामा उम्मेद्वारका आकांक्षीहरू बढी देखिन थालेका छन् । नेतृत्व एकांकी भएको कार्यकर्ताको योग्यता र क्षमताअनुसार जिम्मेवारी नदिएको, आलोचनात्मक चेत भएका नेता कार्यकर्तालाई किनारा लगाइएको गुनासो सामाजिक सञ्जालमा पोखिरहेका छन् । चुनावमा देखाइदिने धम्की पनि सुनिन थालेको छ । नुवाकोटका कांग्रेस र माओवादीलाई आफूभित्रै व्यवस्थापन गर्न कठिन भइरहेको अवस्थामा चुनावी तालमेल सजिलो देखिँदैन । तालमेल भएको अवस्थामा पनि आपसमै घात अन्तरघात गर्नेहरूले सहजरूपमा गठबन्धनमा मत हाल्लान् भनेर भन्न सकिँदैन ।

 

गत आमनिर्वाचनमा वामगठबन्धनले करिव दुईतिहाइ सिटसहित चुनाव जितेको थियो । नेपाली कांग्रेस धेरै पछि थियो । तर, तीन वर्ष बित्न पाउँदानपाउँदै नेपाली कांग्रेसको नेतृत्वमा पाँच दलीय गठबन्धनको सरकार बन्यो । यही सरकारले आगामी ४ मंसिरमा आमनिर्वाचन घोषणा गरेको छ । जनताले म्यान्डेट दिँदादिँदै पनि बाम गठबन्धनले सत्ता सञ्चालन गर्न नसकेपछि जनताको म्यान्डेट नपाएको पार्टी नेपाली कांग्रेसको हातमा सत्ता पुग्यो । अर्थात जनताले बामगठबन्धनलाई सत्ता दिए, आपूmलाई प्राप्त सत्ता बामगठबन्धनले नेपाली कांग्रेसलाई बुझायो । भएको यही हो ।जसरी गत आमनिर्वाचनमा एमाले र माओवादी मिलेर नेपाली कांग्रेसलाई एक्ल्याएका थिए, त्यसरी नै आशन्न आमनिर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेर एमालेलाई एक्ल्याउने रणनीति बनाएका छन् । सत्ता गठबन्धनमा सामेल पाँच वटै पार्टीहरूले चुनावी तालमेल गर्ने आन्तरिक निर्णय गरिसकेका छन् । पाँच दलका शीर्ष नेताहरूको संयुक्त बैठकले चुनावी तालमेल गर्ने लिखित सहमति गर्दै सिट बाँडफाँडका लागि कार्यदलसमेत बनाइसकेको छ । ११ सदस्यीय कार्यदलमा नेपाली कांग्रेसको तर्फबाट तीन जना र अन्य चार पार्टीबाट दुई÷दुई जना प्रतिनिधि छन् । कार्यदलले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई संयोजक तोकेको छ । संभवतः आज–भोलि नै कार्यदलले आफ्नो प्रतिवेदन पेस गर्नेछ ।

तीन महिनाअघि सम्पन्न स्थानीय निर्वाचनमा पनि सत्ता गठबन्धनमा सामेल पाँच दलहरूले देशभरका ७ सय ५३ पालिकामध्ये २ सय १० वटा पालिकामा चुनावी तालमेल गरेका थिए । सत्ता गठबन्धनमा सामेल दलहरूबीच चुनावी तालमेल भएका यी २ सय १० पालिकाहरूमा नेकपा एमालेले ज्यादै नै नराम्रो पराजय बेहो¥यो । गत स्थानीय निर्वाचनमा २ सय ९२ पालिकामा चुनाव जितेको नेकपा एमाले यस पटक २ सय ६ वटा पालिकामा मात्रै सीमित भयो । यदि सत्ता गठबन्धनले सबै पालिकामा चुनावी तालमेल गरेको भए एमालेको हालत धेरै नै खराब हुने रहेछ भन्ने कुरा पुष्टि भइसकेको छ । त्यसैले आगामी संसदीय निर्वाचनमा सत्ता गठबन्धनमा सामेल दलहरूबीच हुन लागेको तालमेलले नेकपा एमाले निकै आत्तिएको छ । यदि २ सय ६५ वटै निर्वाचन क्षेत्रमा सत्तारूढ पाँचदलहरूले चुनावी तालमेल गरे भने एमालेले जित्न सक्ने क्षेत्र अपवादमा मात्रै हुन्छन् । जे हालत विगतमा नेपाली कांग्रेसको भएको थियो, त्यो भन्दा पनि खराब हालत एमालेको हुन सक्छ । किनकी एमाले यसपटक विभाजितसमेत भएको छ ।

आमनिर्वाचनको मिति नजिकिएसँगै कुन जिल्लामा कस्तो खालको तालमेल होला ? कुन पार्टीको अवस्था कस्तो होला ? भन्ने जोडघटाउ सुरु भइसकेको छ । यसै जोडघटाउको सन्दर्भमा यो आलेखमा प्रस्तुत छ, नुवाकोट जिल्लाको संभावित चुनावी अंकगणितका सन्दर्भमा छोटो चर्चा ।मुलुकको राजनीतिलाई प्रभावित पार्ने हैसियत राख्ने जिल्लाहरू नेपालमा थोरै छन् । तिनै थोरै जिल्लामध्येको हो नुवाकोट । पहिलो कुरा त प्रमुख दलहरूको नेतृत्व तहमा नुवाकोटका नेताहरूको पकट बलियो छ । दोस्रो कुरा नुवाकोट जिल्लाका उल्लेख्य मतदाता राजधानी काठमाडौंमा बस्छन्, उनीहरू सचेत पनि छन् । पछिल्लो समयमा नुवाकोटेहरूको आर्थिक हैसियत मज्जाले बढेर गएको छ । तेस्रो कुरा राजधानी काठमाडौं सहर विस्तार हुँदै जाँदा नुवाकोटको केही क्षेत्रसम्म पुगेको छ, यो क्रम बढ्दो छ । काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लाजस्तै नुवाकोट जिल्ला पनि देशको संघीय राजधानीको एक हिस्सा बनिसकेको छ ।

निर्वाचनको घोषणासँगै नुवाकोटमा पनि उम्मेद्वारी घोषणाको सुरुआत भएको देखिन्छ । नेपाली कांग्रेसबाट पुराना नेताहरू अर्जुन नरसिंह केसी, डा.प्रकाशशरण महत र डा. प्रकाशशरण महतले चुनाव लड्ने चाहना देखाइसकेका छन् भने बहादुरसिंह लामा बोल्न बाँकी नै छ । पाँच दलमध्ये नेपाली कांग्रेस र माओवादी बाहेकका दलले उम्मेद्वार त उठाउन सक्लान् तर प्रतिस्पर्धामा आउने देखिँदैन । तालमेल हुँदा एउटा प्रदेश सदस्यसम्म पाए हुने भन्ने अपेक्षा नेकपा एकीकृत समाजवादीको देखिन्छ । नुवाकोटमा नेपाली कांग्रेस र माओवादी मुख्य शक्तिकारूपमा विद्यमान छन् र प्रतिस्पर्धी पनि । तालमेल नहुँदाको अवस्थामा निर्वाचन क्षेत्र नं २ मा भने एमालेले पनि प्रतिस्पर्धी हुन सक्ने देखिन्छ ।

हाराहारी शक्ति भएका माओवादी र नेपाली कांग्रेसको बीचमा नुवाकोटमा चुनावी तालमेल त्यति सजिलो देखिँदैन । केसी र महत गुटमा विभाजित कांग्रेस एक गुटको पराजयमा अर्को गुटले विजयको अनुभूति गर्ने गरेको विगतको नजीर छ । यी दुई गुट मिल्ने हो भने नुवाकोटमा अहिले पनि पहिलो शक्ति भनेको कांग्रेस नै हो । तर कांग्रेसलाई आफ्नो नेता व्यवस्थापनको ठूलो चुनौती छ । सिट जम्मा दुई वटा छन् । माओवादीसँग तालमेल गर्दा कांग्रेको भागमा एक सिट मात्रै पर्छ । यो एक सिटमा डा.महत लड्ने कि केसी ? भन्ने प्रश्न कम पेचिलो छैन । किनकी केसी ०३८ सालदेखि नै अधिकांश चुनाव जित्दै आएका नेता हुन् । आजभन्दा ४१ वर्ष अघिदेखि नै चुनाव जित्दै आएका केसीलाई टिकट नदिन सजिलो छैन । त्यसो त डा.महतहरूलाई नेपाली कांग्रेसको चुरो मान्ने गरिएको छ । मुलुकको आर्थिक अवधारणा नै डा.महतले अघि सारेको मार्गचित्रअनुसार चल्दै आएको छ भन्ने कुरा गलत होइन, किनकी डा. महतले अघि सारेको आर्थिक मार्गचित्रलाई अन्यपार्टीहरूले पनि नकार्न नसकेको अवस्था छ ।

डा. महत र केसीलाई समानुपातिकतर्फ व्यवस्थापन गर्ने, डा. प्रकाशशरण महतलाई विगतमा जस्तै काठमाडौंबाटै चुनाव लडाउने हो भने नेपाली कांग्रेस नुवाकोटको दुई गुटीय द्वन्द्व मत्थर भएर जान्छ । यस्तो अवस्थामा बहादुरसिंह लामा कांग्रेसबाट सर्वसम्मत उम्मेदवार बन्न सक्छन् । दुई क्षेत्रमध्ये एक क्षेत्रमा कांग्रेसका बहादुर सिंह र अर्को क्षेत्र माओवादीलाई पर्ने गरी चुनावी समीकरण मिलाउन सक्यो भने पाँच दलीय गठबन्धनले नुवाकोटमा ज्यादै आसानीका साथ चुनाव जित्न सक्छ । क्षेत्र नं १ मा माओवादी र क्षेत्र नं २ मा कांग्रेसलाई अनुकूल हुन्छ ।

प्रदेश सदस्यमा कांग्रेसले केसीका भाइ जगदीश र डा. महतका भतिज रमेश महत दुवैलाई समेट्ने र प्रतिनिधिसभामा बहादुरसिंह लामाको छनोट ग¥यो भने तालमेलको सम्भावना र विजयको पनि सुनिश्चित हुने देखिन्छ । माओवादी र कांग्रेसको चुनावी तालमेल नहुँदा भने क्षेत्र नं २ कांग्रेसले जित्ने क्षेत्र नं १ मा कांग्रेस माओवादीको कडा प्रतिष्पर्धा हुने देखिन्छ । यस्तो अवस्थामा एमालेको भोट निर्णायक हुन्छ ।

माओवादी र कांग्रेसबीच तालमेल भएको अवस्थामा एमालेले राप्रपासँग तालमेल गर्ने सम्भावना देखिन्छ । त्यसको केही प्रयास पनि सुरु भइसकेको छ । राप्रपाबाट डा. प्रकाशचन्द्र लोहनीलाई क्षेत्र नं १ छोडेर राप्रपाको सहयोगमा क्षेत्र नं २ मा प्रतिस्पर्धा गर्ने तयारी एमालेको देखिन्छ ।

कांग्रेस माओवादीबीच तालमेल हुन नसक्दा विगतमा जस्तै माओवादी र एमालेको बीचमा तालमेल हुन सक्ने झिनो सम्भावनालाई पनि नकार्न सकिँदैन । एक÷एक संघीय सांसद र दुई÷दुई प्रदेश सांसद लिएर माओवादी र एमाले चुनाव लड्न सक्ने सम्भावना पनि हुनसक्छ । यस्तो तालमेल हुँदा दुई पार्टी बीचको सत्रुतापूर्ण सम्बन्ध विद्यमान रहेको अवस्थामा आफू जित्ने तर कार्यगत एकता गरेको शक्तिलाई हराइदिने रणनीति अवलम्वन गर्ने सम्भावना पनि नकार्न सकिने अवस्था छैन । विगतका चुनावी तालमेलका त्यस्तै नकरात्मक अनुभवहरू प्रसस्त छन् ।

माओवादी केन्द्रमा संघीय सांसदमा भन्दा प्रदेश सभामा उम्मेद्वारका आकांक्षीहरू बढी देखिन थालेका छन् । नेतृत्व एकांकी भएको कार्यकर्ताको योग्यता र क्षमताअनुसार जिम्मेवारी नदिएको, आलोचनात्मक चेत भएका नेता कार्यकर्तालाई किनारा लगाइएको गुनासो सामाजिक सञ्जालमा पोखिरहेका छन् । चुनावमा देखाइदिने धम्की पनि सुनिन थालेको छ । नुवाकोटका कांग्रेस र माओवादीलाई आफूभित्रै व्यवस्थापन गर्न कठिन भइरहेको अवस्थामा चुनावी तालमेल सजिलो देखिँदैन । तालमेल भएको अवस्थामा पनि आपसमै घात अन्तरघात गर्नेहरूले सहजरूपमा गठबन्धनमा मत हाल्लान् भनेर भन्न सकिँदैन । पार्टीको गठबन्धन एकातिर नेताहरूको गठबन्धन अर्कैतिर हुन सक्ने सम्भावना पनि प्रवल छ । किनकि यो नुवाकोट हो ।Source : Sourya Dainik 


प्रकाशित : २०७९ भाद्र १, बुधबार

प्रतिक्रिया
भर्खरै प्रकाशित