समाजमा विकृति फैलाउँदै ‘टिकटक’ !


समाजको वातावरण खलल पार्न र जनसमुदायमा विकृति फैलाउने खालका क्रियाकलाप कुनै पनि नागरिकले गर्न पाउँदैन । भड्किलो, उत्तेजना फैलाउने र अवाञ्छित गतिविधि गर्न कानुनले नै बन्देज लगाएको छ । तर, कानुनको धजिया उडाएर समुदायको ख्याल नै नगरीकन ‘टिकटक’ बनाउने क्रम बढेको छ । समाजले पचाउन नसक्ने खालका टिकटक अहिले छ्याप्छ्याप्ती बजारमा आएका छन् । अश्लिल भिडियो तथा शब्दहरूको प्रयोग गरेर टिकटक बनाउने, आफ्नो शारीरिक प्रर्दशन गर्नेजस्ता हर्कत टिकटकमा बढेको छ । विश्वप्रख्यात चिनियाँ एप टिकटकले नेपालमा बेतिथिको बाढी ल्याएको छ ।

सकारात्मकभन्दा नकारात्मक सामग्रीहरू बढी टिकटकमा पाइन्छ । टिकटक बनाउने क्रममा कतिपयको ज्यानसमेत गएको छ । घरपरिवारबीच दरार आएको छ । टिकटकमा जथाभावी भिडियो हाल्दा यसले गलत प्रचार गरिरहेको छ । यता, टिकटक नेपाली बनाउँछन् तर फाइदा भने चीनले मात्र लिइरहेको छ । नेपालीहरू आफ्नो अमूल्य समय खेर फालेर टिकटक बनाउनमै व्यस्त छन् । सिर्जनशील ठाउँमा दिमाग लगाउनुपर्ने युवाहरू टिकटकमै झुम्मिएका छन् । पछिल्लो समय भुरादेखि बुढासम्म सबै टिकटकमै व्यस्त देखिन्छन् ।

पढाइतिर ध्यान हुनुपर्ने बालबालिका पनि अहिले टिकटकमै केन्द्रित छन् । भविष्यका कर्णधारहरू पढ्न छोडेर टिकटक बनाउनतिर लागेपछि मुलुकको रूप कसरी फेरिएला ? टिकटकले नेपाली जनतालाई बिगारेको छ । चीन र भारतले टिकटकमा प्रतिबन्ध लगाइसक्दा नेपाल सरकार भने यसलाई छाडा छोडेर तमासा हेरेर बसिरहेको छ । चीनले एप बनायो तर त्यो एपले हामीलाई बिगा-यो । टिकटकले यत्रो विकृति फैलाइरहँदा गृह मन्त्रालयको यसतर्फ ध्यान गएको छैन । टिकटकले सम्बन्ध लथालिङ्ग पारेको, समाजमा विकृति ल्याएको देख्दा पनि सरकार मौन छ ।

समाजमा अश्लिलता फैलाउने व्यक्तिलाई कारबाही गर्नका निम्ति गृहमन्त्री बालकृष्ण खाँणले सम्बन्धित निकायलाई निर्देशन दिएका छैनन् । हालमात्रै टिकटकमा ऋषि धमलाकी पत्नी एलिजा गौतमको ‘डगी डान्स’ अत्यन्तै भाइरल बन्यो । समाजले पचाउन सक्दैन भन्ने थाहा हुँदाहुदै पनि तीजको समयमा एलिजाले रमिता देखाइन् । उनको सिको गर्दै राष्ट्रसेवक भनिने सरकारी कर्मचारीहरूले समेत कार्यालयको पोसाकमै उक्त नाच देखाए । अहिले टिकटकभरि रातो सारी भिरेर कालो चश्मा लगाएका महिलाहरूले उक्त डान्स गरिरहेको देखिन्छ ।

आफ्नो मानमर्यादा र संस्कृति बिर्सेर यस्तो खालको क्रियाकलाप गर्नाले समाजलाई कतातिर लगिरहेको कसैले चासो छैन । एकछिनको रमाइलोको लागि अरुलाई कति असर पारिरहेको भनेर कसैले सोचविचार गरेका छैनन् । धेरै लाइक र कमेन्टको चक्करमा जथाभावी भिडियो हाल्नेलाई सरकारले कारबाही गर्नुपर्छ । समाजको वातावरण खलल पार्ने हक कसैलाई पनि छैन । टिकटकमा जथाभावी बोल्ने र नाच्नेविरुद्ध साइबर ब्युरो कानुनी उपचारमा जानुपर्छ । टिकटकमा भएको अश्लिलता हेर्न नसकेर टिकटक प्रतिबन्धको माग उठेको छ । टिकटक बन्द गर्नुपर्छ भन्दै युवाहरू सडकमा उत्रिसकेका छन् ।

टिकटकको विरोधमा यतिखेर चौतर्फी माग उठे पनि सरकारले किन सुनुवाइ गर्दैन ? टिकटकले गर्दा यत्रो विकृति फैलिँदा पनि सरकार किन आँखा चिम्लिएर बसेको छ ? कि त सरकार नै नेपाल नै बदनाम गराउन जुटेको छ ? टिकटकमा नेपालीले हालेको अश्लिल भिडियो विश्वभर प्रदर्शन भइरहेको छ । उनीहरूले बोलेका शब्द सबैले सुनिरहेका छन् । उनीहरूको यस्तो हर्कतको मुलुकको शानमाथि गम्भीर दाग लागेको छ । नेपालीहरू नै नेपालको बेइज्जत गर्नमा तुलिएका छन् । बनाउन पायो भन्दैमा जे पनि बनाउन त मिल्दैन नि ।

आफ्नो घरपरिवार, सम्बन्ध, नातागोता र समाजको ख्याल नै नगरी टिकटक बनाउनुले ठूलो क्षति निम्त्याएको छ । जसले गर्दा कि टिकटक तत्कालै बन्द गर्नुपर्छ कि त कडा कानुन बनाउनुपर्छ । कस्तो खालको भिडियो हाल्न मिल्ने–नमिल्ने सरकारले छुट्याउनु पर्छ । आफू चर्चामा आउनका लागि समाज बिर्सिन मिल्दैन । समाजलाई सभ्य बनाउने हो भने पहिले टिकटकमा कडा कानुन लागू गर्नुपर्छ । टिकटकले ल्याएको अश्लिलता रोक्नुपर्छ । समाजमा उत्तेजना फैलाउने क्रियाकलाप गर्नलाई सरकारले छुट दिएको छ ? जे मनलाग्यो त्यही गर्नलाई कानुनले दिन्छ ?

हाम्रो समाज अझै पनि असुरक्षित छ भन्ने कुरा थाहा हुँदाहुदैं पनि अंग प्रर्दशन गरिन्छ । पहिलेपहिले नेपालमा बलात्कारका घटनाहरू सायदै सुनिन्थ्यो होला । तर, अहिले दिनहुजसो बलात्कारका घटनाहरू सार्वजनिक भइरहेका छन् । पछिल्लो समय आएका गति, भिडियो र सामाजिक सञ्जालले यस्ता क्रियाकलापलाई थप हावा दिइरहेको छ । भुसमा आगो फैलिएसरह नकारात्मक गतिविधि छिनमा फैलिइरहेको छ ।

यसमा नेपाली कलाकार र गायक–गायिकाको पनि ठूलो हात छ । कलाकारहरू केही सोचविचार नै नगरी फिल्म खेल्छन् । गायक–गायिकाहरू फोहोरी शब्दको प्रयोग नगरीकन गीत गाउनै सक्दैनन् । यसअघि कोमल वलीले ‘पोइला जान पाऊँ’ भन्दै गति गाइन् उनलाई नेकपा एमालेले सांसद् बनाइदियो । यस्तो गीत गाएर समाजमा विकृति फैलाउनेलाई कारबाही गर्नुपथ्र्यो तर सिधै सांसद बनाइयो । फोहोरी गीत गायो र अश्लिल भिडियो बनायो भने चर्चामा आइन्छ भन्ने मानसिकता भएको व्यक्तिहरू भएको समाज कसरी अघि बढ्छ ?

कलाकार ज्योति मगरलाई नचिन्ने सायदै कोही होलान् । उनलाई उनको कलाकारिताभन्दा पनि छोटो पहिरन र अश्लिल नाचका कारण सबैले चिन्छन् । तर, खोइ त उनीहरूलाई कारबाही ? यस्ता कलाकारहरूलाई कतिञ्जेल छाडा छोड्ने ? कलाकारकै कारणले नेपालको बदनाम भएको छ । मुलुकका गहना भनिनुपर्नेहरू कंलक साबित भएका छन् । जनतालाई स्वतन्त्रता दिने भन्दैमा जे गर्न पनि दिन मिल्दैन । एउटालाई स्वतन्त्रता दिँदा अर्कोको हनन नहोस् । नेपाल संविधानले स्वतन्त्रता दिएको छ तर आफ्नो स्वतन्त्रता प्रयोग गर्दा अरुको हनन नहोस् भनेर स्पष्ट रूपमा लेखेको पनि छ ।

अभिभावकहरू पनि अहिलेदेखि नै जिम्मेवार बन्नुपर्छ । बाबुआमा आफैँ त बिग्रिरहेका छन् भने छोराछोरीलाई पनि बिगारेका छन् । एकछिन रमाइलोले आफ्नो परिवारलाई असर पारेको त छैन भने घरका जिम्मेवारहरूले सोच्नुपर्दैन ? बाबुआमाले छोराछोरीलाई गलत पाठ सिकाइरहेका छन् । आफ्नो परिवारले आफैँ आगो सल्काउने काम भइरहेको छ । जसले घरपरिवार त सोच्दैन उसले समाजको बारेमा के सोच्ला ? बालबालिकालाई पढाउन, लेखाउन छोडेर अभिभावक आफू त टिकटक बनाउछन्, छोराछोरीलाई पनि त्यही सिकाउँछन् ।

पढेलेखेकैबाट कानुन मिच्ने काम भएको छ । अशिक्षित जनताले त अवश्य पनि टिकटक चलाउन जान्दैनन् । शिक्षितहरू नै टिकटकतिर झुन्डिएपछि देश र समाजले के आशा गर्ने ? टिकटक बनाउनका लागि मात्र शिक्षाको उपयोग भएको छ । यत्रो लगानी गरेर राज्यले पढाएको टिकटक बनाउनका निमित्त अवश्य पनि होइन् होला । पढेलेखेका जनतालाई त कानुनको विषयमा अलिकति भए पनि जानकारी हुनुपर्ने हो ? समाजमा बसेपछि के गर्न हुने र गर्न नहुने छुट्याउन सक्नुपर्ने हो । तर, यति पनि छुट्याउन नसक्नेलाई कसरी शिक्षित भन्ने ?

पछिल्लो समय महिलाहरूले आफ्नो संस्कृति बिर्सिएका छन् । टिकटक चलाएर जनताले के सिके ? समाजलाई यसले के फाइदा पु¥यायो ? टिकटकमा राम्रोले होइन् नराम्रो सामग्रीले प्राथमिकता पायो । टिकटकमा भएको बेतिथि रोक्न सरकारको तत्कालै ध्यान जानुपर्छ । विकृति–विसङ्गतिलाई बढावा दिने काम कसैले पनि नगरौँ । आजको रमाइलोले भोलि ठूलो दुर्घटना निम्त्याउन सक्छ । जनतालाई टिकटकको लत लागिसकेको छ ।Source; Arthik 


प्रकाशित : २०७९ भाद्र १९, आईतवार

प्रतिक्रिया
भर्खरै प्रकाशित