अज्ञात रोगले मनाङका चौँरी बिरामी पर्न थाले


हिमाली जिल्ला मनाङका चौँरीगोठमा अज्ञात रोग देखिएको छ । मनाङ ङिस्याङ गाउँपालिका–३ र ५ वडाका चौँरी खर्कमा रहेका चौँरीमा अज्ञात रोग देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले जनाएको छ ।

केन्द्रका प्रमुख नारायण कुसुमले  खर्कका चौँरी मरेको थाहा पाउनासाथ स्थलगत रूपमा नै प्राविधिक टोलीसहित स्थलगत उपचार थालिएको जानकारी दिनुभयो । “ङावल क्षेत्रको खर्कमा चौँरीमा देखिएको लक्षणका आधारमा किसान र प्राविधिकहरूले भ्यागुते रोगको आशङ्का गरेका छन् । चौँरीको रगत तथा बोन म्यारोको प्राप्त नमुना परीक्षणबाट भ्यागुते रोगको पुष्टि हुन बाँकी नै छ”, उहाँले भन्नुभयो ।

समुद्र सतहदेखि चार हजार पाँच सय मिटरको उचाइमा रहेको हिमताल क्षेत्रमा चरन खर्कमा रहेका १० चौँरी मरेको केन्द्रले जनाएको छ । “भ्रमकामा चौँरी मर्ने क्रम रोकिएको छ । तर ङावल क्षेत्रमा अझै चौँरी बिरामी रहेकाले पशु विज्ञको निगरानी जारी रहेको छ”, केन्द्र प्रमुख कुसुमले भन्नुभयो ।

जिल्लामा पूर्ण खोप अभियान चलाउने तयारी भइरहेका बेला चौँरीमा देखिएको समस्याले खोप अभियानको सञ्चालन गर्न नसकिएको उहाँले बताउनुभयो । जिल्लाका अन्य क्षेत्रका खर्कमा रहेका चौँरीमा भने यो समस्या नदेखिएको जनाइएको छ । यस रोगबाट चौँरी भएमा खोप अभियान सञ्चालन गरिने विज्ञ केन्द्रले जनाएको छ ।

भ्रमकाको आइसलेकस्थित १५ पशु बिरामी परेकामध्ये १० मरेको जनाइएको छ । त्यस्तै मनाङ ङिस्याङ गाउँपालिका –८ टङ्कीस्थित प्रिप्चे चरन क्षेत्र चार हजार तीन सय मिटर उचाइमा रहेका बिरामी आठ चौँरी मरेको केन्द्रका प्रमुख कुसुमले जानकारी दिनुभयो । हालसम्म ४२  चौँरी बिरामी परेकामध्ये ३० मरेको उहाँले बताउनुभयो ।

रोग निदानको लागि प्रादेशिक पशु रोग प्रयोगशाला पोखरा पठाइएको केन्द्रले जनाएको छ । प्रयोगशालाका प्रमुख केदारराज पाण्डेका अनुसार भ्यागुते रोग नै हो भन्ने पुष्टि भने भएको छैन । “चौँरीको गोबर परीक्षण गर्न नमुना आउन नसकेका कारण के भएको हो भन्ने पुष्टि हु नसकेको छैन”, उहाँले भन्नुभयो, “हिमाली चौरीमा भाद्र–आश्विनमा परजीवी जुकाको समस्या देखिने सम्भावना रहन्छ । यसले गर्दा पनि समस्या आएको हुनसक्छ ।”

रोगको प्रारम्भिक लक्षणअनुसार भ्यागुते रोगको आशङ्का गरेअनुसार सो रोगविरुद्ध खोप कार्य पूर्ण खोप कार्यक्रमबाट काम भइरहेको र त्यो भ्यागुते रोग नभएको पशुपक्षी रोग अन्वेषण पोखरा पठाएको केन्द्रले जनाएको छ । पशुपक्षी रोग अन्वेषण पोखराले रोग निदानका लागि नमुना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर पठाएको र नमुना परीक्षणको नतिजा बाँकी रहेको जनाइएको छ ।

सो रोगको आउट ब्रेक अध्ययन गर्न भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले यही भदौ ४ गतेदेखि प्राविधिक टोली पठाएको थियो । पशु प्राविधिक टोलीले दिएको विवरणअनुसार विस्तृत रूपमा भेटेरिनरी एपिडीमियोलोजिकल अध्ययन सर्वेक्षण गर्न आवश्यक देखिएको केन्द्रले जनाएको छ ।

ती बिरामी चौँरीमा एक्कासि एक सय छ डिग्री ज्वरो आउने, अत्यधिक र्याल काढ्ने, श्वास फेर्न गाह्रो हुने, खान मन नगर्ने, घाँटी सुनिने, मुख खोलेर श्वास फेर्न गाह्रो भएर आवाज निकाली कराउने र पशु लक्षण देखाएको दुई घण्टादेखि दुई दिनभित्र मर्ने गरेको पशु विज्ञको भनाइ छ ।

उहाँका अनुसार दुई वर्षदेखि छ वर्ष उमेर समूहका पशुमा रोग देखाइपरेको छ । ती कलिला चौँरीका मूल्य रु ४० हजार प्रतिगोटा र वयस्क  एउटैको रु ९० हजारदेखि रु एक लाख २० हजारसम्म पर्ने गर्दछ । यसरी अज्ञात रोगबाट चौँरी मरेपछि किसान चिन्तित भएका छन् । Source: Gorkhapatra 


प्रकाशित : २०७९ भाद्र २१, मंगलवार

प्रतिक्रिया
भर्खरै प्रकाशित