उखुको अनुदान रकम व्यवस्था, कृषकहरू खुसी


सर्लाहीको चिनी उद्योगमा गएको वर्ष उखु बिक्री गरेका किसानका लागि सरकारी अनुदानको रकम कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मा आइपुगेको छ ।

सरकारले उखु किसानको २२ करोड ९८ लाख रुपियाँ अनुदान रकम पठाएको कोलेनिका मलङ्गवाका प्रमुख जीवन पुरीले जानकारी दिनुभयो । बुधबार मात्रै कोलेनिकाको खातामा आएको अनुदान रकम असोज ६ गतेसम्म सबै किसानको खातामा पठाइ सक्नेगरी काम गरिरहेको पुरीले बताउनुभयो ।

गत वर्ष सर्लाहीको इन्दुशङ्कर चिनी उद्योग हरिवन, महालक्ष्मी चिनी उद्योग बगदह र अन्नपूर्ण चिनी उद्योग धनकौल गरी तीन वटा चिनी उद्योगले १४ हजार ७४३ जना किसानको ३२ लाख ८३ हजार २६८ क्वीन्टल उखु क्रसिङ गरेका थिए । उखु किसानलाई प्रतिक्विन्टल ७० रुपियाँका दरले सरकारी अनुदान रकम प्राप्त भएको छ ।

कोलेनिकाको खातामा जम्मा भएको रकम जतिसक्दो चाँडो किसानको खातामा पठाउने कामका लागि कर्मचारी खटाइसकिएको कोलेनिकाका प्रमुख पुरीले बताउनुभयो । “दुई जना कर्मचारीलाई उखुको अनुदान मात्रै हेर्ने जिम्मा दिएका छौँ, चिनी मिलबाट किसानको नाम, ठेगाना अनि बैङ्क खाता माग्ने क्रम चलिरहेको छ” कोलेनिका प्रमुख पुरीले भन्नुभयो, “मिलले दिएको नामावली र खाता नम्बर ‘भेरिफाइ’ गरी असोज ६ गतेसम्म सबै किसानको खातामा पैसा पठाइसक्छौँ ।”

पुरीका अनुसार महालक्ष्मी र अन्नपूर्णले किसानको विवरण उपलब्ध गराइसकेको छ । १० हजार बढी किसानले उखु बेचेका इन्दुशङ्कर चिनी मिलले भने किसानको विवरण उपलब्ध गराएको छैन ।

आफूसँगको कुराकानीमा इन्दुशङ्करले पनि शुक्रबार बेलुकासम्म किसानको विवरण र खाता नम्बर उपलब्ध गराउने बताएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी गौतमको अध्यक्षतामा बिहीबार बसेको अनुदान रकम भुक्तानी समितिको बैठकले पनि सबै कागजात प्रमाणित गरेर अनुदान रकम तत्काल किसानको खातामा पठाउने निर्णय गरेको छ ।

सरकारले ढिलोगरी भए पनि अनुदान रकम पठाएपछि उखु किसान खुसी भएका छन् । नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले उखु किसान दसैँअघि नै अनुदान रकम पाउने आसमा बसेको बताउनुभयो ।  Source Gorkhapatra 


प्रकाशित : २०७९ भाद्र ३१, शुक्रबार

प्रतिक्रिया
भर्खरै प्रकाशित
सम्बन्धित खवर