खोरेतविरुद्ध खोप अभियान सुरु


कर्णाली प्रदेशमा पहिलो पटक पशुमा खोरेत रोगविरुद्धको खोप अभियान सुरु गरिएको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतले रुकुमपश्चिमबाट पशुमा लाग्ने खोरेत रोगविरुद्ध खोप अभियान सुरु गरेको हो ।

प्रयोगशालाका पशु चिकित्सक लक्ष्मीनारायण दासका अनुसार पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुमपश्चिमको सहकार्यमा प्रदेशमै पहिलो पटक खोरेत रोगविरुद्धको खोप अभियान चलाइएको हो । उहाँले रुकुमपश्चिमका ५० हजार पशुमा उक्त खोप लगाउने लक्ष्य रहेको बताउनुभयो ।

जिल्लाको मुसीकोट नगरपालिका–२, कालच्युरीमा रहेको सिद्धबाबा कृषि फार्ममा रहेका गाई, भैँसीलाई खोप दिएर अभियानको सुरुवात गरिएको हो ।

असोज १ गतेदेखि सुरु भएको खोप अभियान असोज ९ गतेसम्म जिल्लाभरमा सञ्चालन हुने पशु अस्पताल तथा पशुसेवा कार्यालयका निमित्त प्रमुख ज्ञानुकुमार शर्माले जानकारी दिनुभयो ।

यो अभियानमा घरघरमै पुगेर गाई, भैँसी, भेडा, बाख्रा, बङ्गुर, सुँगुरलगायतका पशुलाई खोरेत रोगविरुद्धको खोप दिइनेछ । यसका लागि जिल्लाका सबै स्थानीय तहमा ३५ जना खोपकर्ता परिचालन गरिएको निमित्त प्रमुख शर्माले बताउनुभयो ।

यस जिल्लाका छवटा स्थानीय तहमा रहेका पशुलाई खोरेत रोगविरुद्धको खोप दिनका लागि पशुपन्छी रोग अन्वेषण प्रयोगशाला

सुर्खेतले ४० हजार खोप सहयोग गरेको छ भने १० हजार खोप पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुमपश्चिमले व्यवस्था गरेको छ ।

पशुहरूमा खोरेत रोगविरुद्धको खोप अभियान उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जिल्लामा पशुपालनको राम्रो सम्भावना रहेकाले पशुलाई लाग्ने हरेक खालमा रोगविरुद्ध सचेतनाका कार्यक्रम जरुरी रहेको बताउनुभयो ।

खोरेत रोग खुर फाटेका जनावरमा लाग्ने सरुवा रोग भएकाले अन्य पशुमा सर्नबाट रोक्न अभियानकै रूपमा खोप लगाउने कार्यक्रम सञ्चालन गरिएको हो ।

यो रोग लागेमा पशुको खुट्टा तथा मुखको वरिपरि घाउ हुने, गन्हाउने, पाक्ने, पशुलाई ज्वरो आउनेलगायतका लक्षण देखापर्ने पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतका पशु चिकित्सक लक्ष्मीनारायण दासले जानकारी दिनुभयो ।    Source : Gorkhapatra 


प्रकाशित : २०७९ आश्विन २, आईतवार

प्रतिक्रिया
भर्खरै प्रकाशित
सम्बन्धित खवर