शिक्षक विज्ञापन पुनः तीन तहकै


 शिक्षक सेवा आयोगले यस पटक पनि सामुदायिक विद्यालयमा रिक्त शिक्षक दरबन्दी पूर्ति गर्न तीन तहकै विज्ञापन तथा परीक्षा सञ्चालन गर्ने भएको छ। शिक्षा ऐनमा विद्यालय तहको संरचना दुई तह मात्र हुने उल्लेख गरे पनि आयोगले तीनै तहको संरचनाअनुसार शिक्षक नियुक्ति प्रक्रियालाई निरन्तरता दिने भएको हो। शिक्षा ऐनमा आधारभूत र माध्यमिक गरी दुई तहको विद्यालय शिक्षाको संरचना उल्लेख छ।

शिक्षा नियमावली तथा शिक्षक सेवा आयोग नियमावलीमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका लागि फरक–फरक तरिकाबाट परीक्षा सञ्चालन गरेर शिक्षक छनोट गर्ने उल्लेख गरिएको छ।

शिक्षा ऐनमा आधारभूत र माध्यमिक गरी दुई तहको विद्यालय शिक्षाको संरचना उल्लेख छ

 

नियमावलीको उक्त व्यवस्था संशोधन भएपछि वा शिक्षक सेवा आयोगसम्बन्धी छुट्टै कानुन बनेमा मात्रै दुई तहको शिक्षक छनोट गर्न सकिने आयोगका सूचना अधिकारी सुदर्शन मरहट्ठाले जानकारी दिनुभयो। आयोगले वार्षिक कार्यतालिकाअनुसार तीनै तहका लागि विज्ञापन गर्ने तयारी थालेको हो। सामुदायिक विद्यालयमा रिक्त शिक्षक दरबन्दी शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पठाएपछि विज्ञापन प्रक्रिया सुरु गरिने आयोगले जनाएको छ। रिक्त दरबन्दीबारे केन्द्रले असोज महिनाभित्रमा पठाइसक्नुपर्ने भए पनि प्राप्त नभएकोले विज्ञापन प्रक्रियामा ढिलाइ भएको आयोगका सूचना अधिकारी मरहट्ठाले जानकारी दिनुभयो।

केन्द्रले आगामी चैत मसान्तभित्र रिक्त हुने दरबन्दी हिसाब गरेर आयोगमा पठाउनेछ। उक्त दरबन्दी र विगतमा सञ्चालन गरिएको परीक्षामा अनुत्तीर्ण भएका रिक्त दरबन्दीलाई समेत जोडेर विज्ञापन गरिनेछ। आयोगले वार्षिक कार्यतालिकाअनुसार मङ्सिरमा प्राथमिक तह, पुसमा माध्यमिक तह र माघमा निम्न माध्यमिक तहको विज्ञापन गर्नेछ।Source :Gorkhapatra


प्रकाशित : २०७९ कार्तिक १४, सोमबार

प्रतिक्रिया
भर्खरै प्रकाशित