पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार


पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । गोली लागेर उनी घाइते भएका छन् ।

पाकिस्तानको गुजरांवालाको अल्लाहवाला चोक नजिकै खानमाथि गोली प्रहार भएको विभिन्न समाचारमा जनाइएको छ । उक्त घटनामा अरु ३–४ जना व्यक्ति पनि घाइते भएका पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

गोली हान्ने एक जना व्यक्तिलाई पक्राउ गरिएको पाकिस्तानी प्रहरीले जनाएको छ । पाकिस्तान तहरीक (ए) इन्साफका महासचिव असद उमरका अनुसार खानलाई खुट्टामा गोली लागेको छ भने उपचारको लागि लाहोर लगिएको छ ।

उनीसँगै र्यालीमा सहभागी केही व्यक्ति घाइते भएको बताइएको छ । उनी खतरामुक्त रहेको चिकित्सकहरूले जनाएका छन् ।

खान केही समययता तत्काल निर्वाचनको माग गर्दै प्रदर्शन गर्दै आएका छन् । खान अमेरिका र पाकिस्तानी सेनासँग मिलेर नयाँ सरकारले आफूलाई सत्ताच्युत गरेको भन्दै निरन्तर प्रदर्शनमा सहभागी हुँदै आएका छन् ।


प्रकाशित : २०७९ कार्तिक १८, शुक्रबार

प्रतिक्रिया
भर्खरै प्रकाशित
सम्बन्धित खवर