अमेरिकाको स्थानीय निर्वाचनमा नेपाली मूलका तीन जना विजयी


नेपाली मूलका तीन अमेरिकी नागरिकले त्यहाँ हालै सम्पन्न स्थानीय स्तरको निर्वाचनमा विजय हासिल गरेका छन् । मेरिल्यान्ड राज्यको विधान सभा क्षेत्र–८ बाट ह्यारी भण्डारी दोस्रो कार्यकालका लागि विजयी हुनुभएको छ । मेरिल्यान्ड राज्यको राज्य विधायक सदस्यका लागि उहाँ एक सशक्त उम्मेदवारको रूपमा खडा हुनुभएको थियो । यसअघि पनि उहाँ सोही क्षेत्रबाट विजयी हुनुभएको थियो ।

आफ्नो ४ वर्षे कार्यकालमा आप्रवासीहरूका लागि निकै राम्रो काम गरेको भन्दै अमेरिकी नागरिकहरूले समेत उहाँको प्रशंसा गरेका थिए । विभिन्न सामाजिक काममा सक्रिय रहँदै आएका भण्डारी नेपाली मूलबाट राज्य सभामा निर्वाचित हुने पहिलो व्यक्ति हुनुहुन्छ ।

त्यसै गरी भर्जिनियास्थित टाउन अफ हन्डन ( नगरपरिषद् सदस्य) मा नेपाली मूलका प्रदीप ढकाल तेस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । ६ जना टाउन काउन्सिलमध्ये सबैभन्दा बढी मत ल्याउने उम्मेदवार उपमेयर हुने व्यवस्था रहेको छ । उहाँले ३ हजार ३ सय ३४ मत प्राप्त गर्दै विजयी हुनुभएको छ ।

सन् २००६ मा उच्च शिक्षा अध्ययनका लागि अमेरिका पुगेका ढकाल आफ्नो अध्ययन पूरा गरी १० वर्षदेखि स्थायी रूपमा मेरिल्यान्ड बस्दै आउनुभएको छ ।भर्जिनियाका विभिन्न सामाजिक संस्थामा संलग्न रहँदै आएका ढकाल सन् २०१६ देखि निर्वाचनमा सहभागी हुँदै आउनुभएको छ ।

त्यसै गरी न्युर्योक राज्य विधान सभामा नेपाली मूलकी सराहना श्रेष्ठ विजयी हुनुभएको छ । उहाँको यो विजयसँगै अर्को इतिहास कोरिएको छ । उहाँ अमेरिकामा राज्यस्तरीय विधान सभा सदस्य अर्थात् सांसदमा विजयी हुने दोस्रो नेपाली हुनुहुन्छ । महिलाको तर्फबाट अमेरिकी राजनीतिमा माथिल्लो पदमा पुग्ने उहाँ नेपाली मूलकी पहिलो व्यक्ति हुनुहुन्छ ।

उहाँ सो निर्वाचनमा ३५ हजार ४ सय ९३ मत ल्याएर विजयी हुनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । नोभेम्बर ८ मा भएको विधान सभा सदस्य निर्वाचनमा न्युर्योकको निर्वाचन क्षेत्र १०३ बाट प्रतिस्पर्धा गरेकी श्रेष्ठले रिपब्लिकनका उम्मेदवार प्याट्रिक सेहनलाई हराउनुभएको थियो । निर्वाचित तीनै जना डेमोक्र्याट पार्टीबाट निर्वाचित हुनुभएको हो ।Source :News of Nepal


प्रकाशित : २०७९ कार्तिक २४, बिहीबार

प्रतिक्रिया
भर्खरै प्रकाशित