बेमौसममा डेसनसँग द कमान्डो जुध्दै


विश्वकप फुटबलका कारण ठुला व्यानरका चलचित्रले मँसिरबाट आफ्नो प्रदर्शनी दुई महिना पछि सारेका छन् । सिनेमाको लागि यो बेमौसम हो । तर यही समयमा अरु नेपाली चलचित्र रिलिज हुने भएका छन् । वल्र्ड कपको क्वाटर फाईनलको पूवार्धमा २३ मंसिरबाट चलचित्र ‘डेसान’ रिलिज हुने भएको छ ।

यही मितिमा डेसानसँगै अर्को नेपाली चलचित्र सोल अफ द कमान्डो पनि रिलिज हुने भएको छ । यो समयमा पनि दुई नेपाली चलचित्र जुध्ने भएका छन् । बिहिबार काठमाडौंमा चलचित्र डेसानको टिजर रिलिज गर्दै आफुहरु बिरुद्ध बितरकले अर्को चलचित्र सोल अफ द कमान्डो जुधाउन लगाएको यसको निर्माण पक्षले जनाएको छ ।

सोल अफ द कमान्डो एक्नस प्रधान फिल्म हो भने डेसान सामाजिक फिल्म हो । बिहिबार रिलिज गरिएको टिजर अनुसार डेसानमा पारिवारिक सम्बन्ध,प्रेममा हुने असमझदारी तथा सामाजीक न्यायको बिषयलाई प्रस्तुत गरिएको देखिन्छ ।

कमल एक्चै मगरले निर्देशन गरेको यो चलचित्रमा भोला सापकोटा, नम्रता सापकोटा, निशान चौहान, पुनम थापा, कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमीशा सारुमगरलगायतको अभिनय छ ।

कोरोना कालमा सुटिङ गर्दा कतिपय ठाउँमा आफुहरुले निकै असहयोग भोग्नु परेको पीडा अभिनेत्री अभिनेत्री नम्रताले सुनाईन्,‘अप्ठेरो बीच पनि फिल्म राम्रो बनेको छ । महामारीको पीडाले मासिनलाई कटिसम्म सताउँछ भन्ने यथार्य यो फिल्ममा दर्शकले देख्न पाउनु हुनेछ ।’ उनले भनिन् ।

चक्रबहादुर महर्जनको छायाँकन रहेको यो चलचित्रमा हरि लम्सालको संगीत, राजु थापाको शब्द तथा प्रताप दास र प्रबिशा अधिकारीको स्वरमा गीत, अजय स्याङतानको कोरियोग्राफी रहेको छ । मिलन श्रेष्ठले सम्पादन गरेको फिल्मको बितरण एफडि, जिजिए ग्रुप र रिच इन्टरटेन्मेन्टले गर्दैछ ।

कार्यक्रममा निर्देशक कमलले चलचित्र डेसान कोरोना महामारी त्रासादी कालमा निकै सकसका साथ छायांकन गरिएको स्मरण सुनाए । आफुले फिल्ममा समसामयिक कथा प्रस्तुत गरेको उनको कथन थियो,‘दर्शकको लागि निकै दुख गरेर फिल्म बनाएका छौ,’ उनले भने,‘फिल्मले पूर्ण मनोरञ्जनका साथै समाजीक सन्देश पनि प्रवाह गरेको छ । त्यसैले आम दर्शकलाई हेर्न आग्रह गर्दछु ।’

यता सोल अफ द कमान्डो एक्सन प्रधान चलचित्र हो । दुई दशक अघि चलचित्र द कमान्डो खेलेका राजकुमार राईले त्यो फिल्मको सिक्वेलको रुपमा यो फिल्ममा काम गरेका छन् । सन् १९८६ मा दक्षिण कोरियामा सम्पन्न दशौँ एशियन खेलकुदमा तेक्वान्दो खेलमा कास्य पदक तथा सन् १९९९ मा नेपालमा भएको आठौँ दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक प्राप्त गर्न सफल अन्तरराष्ट्रिय क्षेत्रमा नेपालको नाम उच्च राख्न सफल तेक्वान्दो खेलाडी रहेका राईले यस पटक यो चलचित्र खेलसँग सम्बन्धित रहेको बताएका छन् । दर्शकका लागि आफ्नो फिल्म केही फरक भएकाले वल्र्ड कपको बीच पनि यो फिल्म चल्ने उनको विश्वास छ ।

युवराज राईले निर्देशन गरेको यो चलचित्रमा राजकुमारसँगै शिशिर वाङ्ग्देल, नरेन खड्का,शेषुका राई, मिलन राई, रवि थापा, रुपेश झा, पुष्प श्रेष्ठ, सीमा राई, नरेन्द्र लिम्बु, पूर्ण लिम्बु, सुष्मिता लिम्बुको मुख्य भूमिका छ ।Source: Rajdhani


प्रकाशित : २०७९ कार्तिक २५, शुक्रबार

प्रतिक्रिया
भर्खरै प्रकाशित