आन्दोलनरत शिक्षकलाई वार्तामा आउन प्रधानमन्त्रीको आग्रह : सहमति गरेर, काममा फर्किनुस्


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन आह्वान गरेका छन् । नेपाल प्रगतिशील प्राध्यापक संगठनको ११ औं राष्ट्रिय सम्मेलनलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार शिक्षकका मागप्रति नकारात्मक नरहेको बताए।

आज काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘सरकार उहाँहरूका मागप्रति नेगेटिभ हुने कुरै छैन। संभव मागहरु सबै पूरा गर्छ। उहाँहरू तुरुन्त वार्तामा आएर विषय टुंग्याउनुस्। सहमति गर्नुस् र फर्किनुस्। मेरो आग्रह छ।’ उनले भने, ‘औपचारिक वार्तै गर्नुहुन्न भन्ने अनौठो सुनेको छु मैले। आन्दोलन गर्ने वार्ता नगर्ने, के भनेको त्यो ? वार्तामा आउनुस्, कुरा गर्नुस्, संभव कुरा सरकारले गरिदिन्छ।’

गएको वर्षको असोजमा सरकारले गरेको ११ बुँदे सहमति कार्यान्वयन गर्दै यथाशक्य छिटो विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शिक्षकहरू २० दिनदेखि काठमाण्डौको सडकमा आन्दोलित छन् । यसअघि दिउँसो १२ देखि ३ बजेसम्म आन्दोलन गर्दै आएका शिक्षकहरूले हिजो र आज बिहान ९ देखि १२ बजेसम्म आन्दोलन गरेका छन् ।

प्रधानमन्त्रीसँगै शिक्षक महासंघका नेताहरूले सभामुख देवराज घिमिरे, शिक्षामन्त्री विद्या भट्टराई लगायतसँग पनि पटक–पटक छलफल गरेका थिए । तर सहमति नजुटेकाले आन्दोलन २० औँ दिनसम्म पनि जारी छ। उनीहरुको आन्दोलनका कारण वैशाखदेखि सुरु भएको भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षण लगायतका काम प्रभावित भएका छन् ।

सरकारले संवाद र सहमतिको बाटो खुला राखेको उल्लेख गर्दै प्रधानमन्त्रीले आन्दोलन अन्त्य गरी वार्ताको टेबलमा आउन सबै शिक्षकलाई पुनः आग्रह गरे ।

गुणस्तरीय शिक्षाका लागि लाग्नुस्,’ प्रधानमन्त्री ओलीले भने, ‘शिक्षकहरुको आन्दोलनले विद्यार्थी र अभिभावकलाई घाटा छ । शिक्षकहरुलाई लाभ छैन । त्यसकारण अविलम्ब वार्तामा बसेर आन्दोलन अन्त्य गर्नुस् । प्रतिगामी तत्वहरु सल्बनाएका बेला आन्दोलन गर्ने उपयुक्त समय पनि होइन ।’

 

 


प्रकाशित : २०८२ बैशाख ८, सोमबार

प्रतिक्रिया
भर्खरै प्रकाशित