बीच बाटोमै कुटपिटमा संलग्न चार ट्राफिक प्रहरीको जिम्मेवारी खोसियो


काठमाडौं । सर्वसाधारणलाई बीच बाटोमै कुट्ने चार जना ट्राफिक प्रहरी कारबाहीमा परेका छन् । उनीहरूलाई ट्राफिक प्रहरी वृत्त जनसेवाको जिम्मेवारीबाट हटाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।प्रहरीका अनुसार ती व्यक्तिमाथि काठमाडौंको सुन्धारास्थित आकाशे पुलमुनि कुटपिट भएको थियो । साथै, घटना गत मंसिर ११ गतेको रहेको पनि प्रहरीले जनाएको छ ।

भिडिओमा सवारीसाधान आवतजावत भइरहेको देखिन्छ भने सडक छेउमा ट्राफिक प्रहरीले एक पुरूषलाई कुटपिट गरेको देखिन्छ। एक ट्राफिक प्रहरीले ती पुरूषलाई खुट्टाले हान्दै, उचाल्दै पछारेका छन् भने ती पुरूष अचेत भएको देखिन्छ। ती युवालाई बुटले हानेर ढालेपछि कठालो समातेर ट्राफिक प्रहरीले लछारपछार गरेको भिडिओमा देखिन्छ। कुटपिट गर्दै कागजपत्र भुईँमै फ्यालेर एक ट्राफिक प्रहरी हिँडेको भिडिओमा देखिन्छ।

उनीहरू चार जनालाई नै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय झिकाएर आवश्यक अनुसन्धान भइरहेको छ ।


प्रकाशित : २०८२ बैशाख ११, बिहीबार

प्रतिक्रिया
भर्खरै प्रकाशित