न्यायपूर्ण समाज निर्माणमा न्याय र कानून जगतको महत्वपूर्ण दायित्व छ: राष्ट्रपति


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले न्यायमा आमनागरिकको सहज पहुँच पुग्नुपर्ने बताएका छन् । छिटोछरितो न्याय सम्पादनमा पनि उनको जोड रहेको छ । कानुन दिवसको अवसरमा सर्वोच्च अदालतले शुक्रबार आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

राज्यको कार्यकारणी, विधायिकी र न्यायिक अधिकार एउटै निकायबाट प्रयोग भइरहेको तत्कालीन अवस्थामा यो ऐन (प्रधान न्यायालय ऐन, २००८) लागू भएपछि व्यवहारिक रुपमै शक्ति पृथकीकरण र स्वतन्त्र न्यायपालिकाको अवधारणाअनुरुप न्याय सम्पादनको कार्यको थालनी भएको हुँदा न्याय र कानून जगतमा यो दिनको विशेष महत्व रहेको उनले बताए ।
उनले नेपालको संविधानको मर्म एवं वर्तमान आवश्यकताअनुरुप नयाँ कानुनको निर्माण र प्रचलित कानुनमा समसामयिक सुधार गरिनुपर्ने भनाइ राखे । आधुनिक पद्धति र प्रविधिसमेतको प्रयोगबाट आम नागरिकको न्यायमा सहज पहुँच स्थापित, मुद्दाको शीघ्र व्यवस्थापनमार्फत छिटोछरितो न्याय सम्पादन, विधिको शासन कायम तथा न्यायिक मूल्य मान्यतामा क्षयीकरण हुन नदिई न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्ने सुनिश्चतताका लागि कानुन दिवसले सबैमा सकारात्मक सोच, हौसला र प्रेरणा प्रदान गर्न सकोस् भन्ने शुभेच्छा प्रकट गरे ।कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत सहभागी छन् ।


प्रकाशित : २०८२ बैशाख २६, शुक्रबार

प्रतिक्रिया
भर्खरै प्रकाशित