काठमाडौंका पूर्व प्रमुख प्रशासकीय अधिकृत परियारविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाखुसी करिडोर अन्तर्गतको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको भन्दै परियारसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । परियार हाल सूचना तथा प्रशारण विभागको महानिर्देशक छन् ।

उनीसँगै मुद्दा दायर हुनेहरूमा बोलपत्र मूल्यांकन समितिका पदाधिकारीहरू रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, जनार्दन गिरी र उत्तम दाहाल रहेका छन् ।

अख्तियारले उनीहरुमाथि काठमाडौं महानगरपालिकामा ढल निर्माणको ठेक्कामा अनियमितता गरी सार्वजनिक सम्पत्तिमा हानि नोक्सानी पुर्‍याएको अभियोग लगाएको छ ।

अख्तियारले ढल निर्माण कार्यको ठेक्कामा ४ करोड ३१ लाख ७२ हजार नोक्सानी पुर्याएको भन्दै सोहि बराबर बिगो तोकेर मुद्धा दायर भएको जानकारी दिएको छ ।

उक्त प्रक्रियामा चार करोड ३१ लाख ७२ हजार २ सय ३७ रुपैयाँ ३२ पैसा दुरुपयोग गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो । कम कबोल गरेको समानान्तर निर्माण सेवा प्रालिलाई उक्त ठेक्का नदिइ कल्पवृक्षलाई दिएको भन्दै उजुरी परेकोमा अख्तियारले अनुसन्धान गरेर बुधबार परियारसहित ७ जनालाई मुद्दा दायर गरेको हो ।

आयोगले यो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ र १९(२) अनुसार कसुर भएको जनाउँदै सबै प्रतिवादीविरुद्ध बिगो रकम असुल, जरिवाना र कैद सजायको माग गरेको छ।


प्रकाशित : २०८२ जेष्ठ २९, बुधबार

प्रतिक्रिया
भर्खरै प्रकाशित