इरानको परमाणु कार्यक्रमहरूमा इजरायली हमला सुरु


काठमाडौं ।इजरायलले इरानको परमाणु कार्यक्रमहरूमा हमला सुरु गरेको छ । इजरायलको आक्रमणमा इरान रेभोल्युसनरी गार्डका प्रमुख हुसैन सलामीको मृत्यु भएको इरानको सरकारी मिडियाले जानकारी दिएका छन् । इस्लामिक रिभोलुशनरी गार्डस् इरानको सशस्त्र सेनाको एक भाग हो र त्यो देशको सबैभन्दा शक्तिशाली संगठनहरू मध्येमा पर्दछ । इजराली हमलामा मारिएका केही वरिष्ठ नेताहरू मध्येमा उनी पनि एक छन्।

केही दिनयताको तनावपछि इजरायलले इरानमाथि आक्रमण शुरु गरेको हो। इजरायली रक्षामन्त्री इजराइल काट्जले आक्रमणको पुष्टि गरेका छन्। इरानमा आक्रमण गरेपछि इजरायलले आफ्नो देशमा प्रतिकारात्मक आक्रमण हुन सक्ने आशंकामा संकटकाल घोषणा गरेको छ। रक्षामन्त्री काट्जका अनुसार इरानमा आक्रमणलगत्तै इजरायलका शैक्षिक गतिविधि, अन्य सार्वजनिक कार्यक्रम लगायतमा प्रतिबन्ध लगाइएको छ।

प्रधानमन्त्री  नेतन्याहुले  इरानको राजधानी तेहरानबाट करिब २२५ किलोमिटर दक्षिणमा रहेको नातान्जस्थित मुख्य संवर्धन केन्द्रलाई निशाना बनाइएको बताएका छन्। नेतन्याहुले हमला इरानी वैज्ञानिकहरूलाई लक्षित गरी गरिएको र ती वैज्ञानिकहरू “इरानी बम” मा काम गरिरहेको आरोप लगाए। उनले आक्रमण आवश्यक परेका दिनसम्म  जारी रहने बताएका छन्।
इजरायलले इरानका परमाणु कार्यक्रमसँग सम्बन्धित स्थानहरू र अन्य सैनिक केन्द्रहरूमा लक्षित हमला गरेको जनाएको छ । इरानी सरकारी टेलिभिजनका अनुसार, नतांज परमाणु केन्द्रमा पुनः विस्फोट भएको छ। उक्त केन्द्र तेहरानबाट करिब २२५ किलोमिटर दक्षिणमा अवस्थित छ |


प्रकाशित : २०८२ जेष्ठ ३१, शुक्रबार

प्रतिक्रिया
भर्खरै प्रकाशित