कप्तान सावित्राको ह्याट्रिकमा नेपालको एक सयौं अन्तराष्ट्रिय खेलमा फराकिलो जित


काठमाडौं।छनोटको समूह एफको पहिलो खेलमा नेपालले सानदार जितसहित १००औं अन्तर्राष्ट्रिय खेललाई पनि ऐतिहासिक बनाएको छ । यसै खेलबाट गोलमेसिन सावित्राले नेपालका लागि कप्तानी डेब्यु गरेकी हुन् ।उनले उज्वेकिस्तानको गर्मीमा कप्तानी डेब्युमै ४ गोल ठोकिन् ।
यस्तै नेपालको बेल्जियन मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले पनि राष्ट्रिय टिम डेब्युमा जितको स्वाद चाखे । तास्केन्तमा नेपालका लागि सावित्राले ४ गोल गर्दा अनिता बस्नेत, सरु लिम्बु, रश्मिकुमारी घिसिङ र अनिता केसीले १-१ गोल गरे । लाओसले एक आत्मघाती गोल नेपाललाई उपहार दिएको थियो ।

पहिलो हाफमा दुई गोल गरेको नेपालले दोस्रो हाफमा ७ गोल थपेको थियो । अनिता बस्नेतले १२औं मिनेटमा सविता रना मगरको हेडर पासमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । सावित्राले ४४औं मिनेटमा अनिता बस्नतेकै क्रसमा गोल गर्दै अग्रता दोब्बर पारिन् ।दोस्रो हाफको दोस्रो मिनेटदेखि नै नेपालले गोल गर्न थाल्यो । आफ्नो ५०औं अन्तर्राष्ट्रिय खेल खेलेकी सरुले ४७औं मिनेटमा गोल गर्दै नेपालको अग्रता तेब्बर पारिन् ।सावित्राले ५५औं मिनेटमा आफ्नो दोस्रो गोल गरिन् । उनले ७५औं मिनेटमा ह्याट्रिक पूरा गरिन् भने त्यसको एक मिनेटपछि व्यक्तिगत चौथो गोल गरिन् ।

रश्मीले ५६औं र अनिता केसीले ८३औं मिनेटमा गोल गरिन् । नेपालले ८८औं मिनेटमा नवौं गोल गर्‍यो । सावित्राले हानेको प्रहार लाओसका खेलाडीलाई डिफ्लेक्ट हुँदै गोल भएको थियो ।सावित्रा नेपालको महिला टिमलाई नेतृत्व गर्ने ११औं कप्तान समेत बनिन् ।
सावित्राको कप्तानी डेब्यु, प्रशिक्षकको सिनियर नेसनल टिम डेब्यु, सरस्वती हमालको डेब्यु, महिला एसियन कप छनोटमा पहिलो जित जस्ता विषय भने सम्झनलायक रहे ।


प्रकाशित : २०८२ असार १६, सोमबार

प्रतिक्रिया
भर्खरै प्रकाशित