मन्त्रिपरिषद्का निर्णयहरु के के छन् ?


काठमाडौं । यही साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बुधबार सार्वजनिक गरिएको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेर सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्को १० निर्णय सार्वजनिक गरेका हुन् ।विश्व बैंकबाट विकास प्रभावकारिताका लागि सार्वजनिक वित्त परियोजनाका लागि प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

साउन १३ देखि १५ गतेसम्म भुटानको राजधानी थिम्पुमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका सदस्य गंगादत्त अवस्थीलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको बैठकले चीन सरकारबाट बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण चिकित्सा केन्द्र परियोजना कार्यान्वयन गर्नेसम्बन्धी लेटर अफ एक्सचेन्जमा हस्ताक्षर गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

साथै, बैठकले विश्व बैकबाट विकास प्रभावकारिताको लागि सार्वजनिक वित्त परियोजनाका लागि प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने सम्बन्धमा विश्व बैङ्कसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

विभिन्न कार्यक्रममा सहभागी हुन कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.गोविन्द प्रसाद शर्माको चीन भ्रमण, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको इथियोपिया भ्रमण र वन तथा वातावरण राज्यमन्त्रीरूपा विकको जिम्बावे भ्रमणलाई स्वीकृत गरेको छ ।

साउन ६ गते नयाँ दिल्लीमा आयोजना हुने नेपाल–भारत गृह सचिवस्तरीय बैठकमा नेपालको तर्फबाट गृह सचिव गोकर्णमणि दुवाडी नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति प्रदान गरेको बैठकले भारतीय सेनाको कार्यक्रममा सहभागी नेपाली सेनाका उपरथी श्री ध्रुवप्रकाश शाहलाई स्वीकृति दिने निर्णय गरेको छ ।

बैठकले नेपाली सेनाका एकजना सहायक रथीलाई अवकाशपूर्व उपरथी दर्जामा मानार्थ बढुवा गर्ने निर्णय गरेको बैठकले नायव महान्यायाधिवक्ता डा.टेकबहादुर घिमिरेले साउन २ गतेदेखि लागू हुने गरी पेस गरेको स्वैच्छिक अवकाश स्वीकृत गर्ने निर्णय गरेको पत्रकार सम्मेलनमा मन्त्रि एवं सरकारका प्रवक्ता गुरुङले जानकारी दिएका छन् ।


प्रकाशित : २०८२ श्रावण ८, बुधबार

प्रतिक्रिया
भर्खरै प्रकाशित