आज नाग पञ्चमी पर्व मनाइँदै


काठमाडौँ |  नाग पञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूल ढोकामा टाँसेर मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ । घरको मूल ढोकामा नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

नागको पूजा अर्चनाका लागि दूध, मिठाई, फूल अनि धान भुटेर तयार भएको लाभा चढाइन्छ । सामान्यतया अगाडी सर्प नै राखेर पूजा गर्न डरलाग्दो र जोखिमयुक्त हुने भएकाले नाग देवताको प्रतिमा, काठ या चित्रमा आजको दिन पूजा गरिन्छ ।

नागहरू अकिंत चित्र लिएर ब्राह्मण पुरोहितहरू आआफ्नो जजमानको घरमा दैलोमा गाइको गोबर, दूबो लिएर नाग टाँस्न पुग्दछन् । यसरी दैलोमा टाँसिएको नागको चित्रले वर्षभरि रक्षा गर्ने जनविश्वास छ । नाग पञ्चमीको वास्तविक ऐतिहासिक जरो महाभारतसँग जोडिएको पनि पाइन्छ ।

नाग पूजाको प्रचलन वैदिककालदेखि नै शुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नाग पूजाका लागि प्रसिद्ध मानिन्छ ।

नागको पूजा गर्नेहरुको घुइँचो

आज काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा पूजा गर्नेहरुको घुइँचो छ ।

नागको पूजा गरी गाईको दूध, अक्षता, दुबो, खीर, रोटीलगायतका परिकार प्रसादको रुपमा चढाउने र खाने गरिन्छ ।

वैज्ञानिकरुपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने भएकाले ऋषिमुनिहरुले नागजातिको पूजाआजा गर्ने रित बसालेको विश्वास छ ।

नागपञ्चमीसँगै चाडबाडको याम सुरु हुन्छ ।


प्रकाशित : २०८२ श्रावण १४, मंगलवार

प्रतिक्रिया
भर्खरै प्रकाशित