जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच कार्यगत एकता


काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबीच कार्यगत एकता भएको छ । बिहीबार काठमाडौंमा दुवै पार्टीले कार्यगत एकताको पत्रमा सहमति जनाएका हुन् । जसपाको तर्फबाट अध्यक्ष अशोक राई र राष्ट्रिय मुक्ति पार्टी नेपालको तर्फबाट अध्यक्ष राजेन्द्र महतोले सहमति पत्रमा हस्ताक्षर गरे ।

कार्यगत एकतामा  जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई र  राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले हस्ताक्षर गरेका हुन् ।

प्रत्येक घटकहरूले आफूलाई दिएको जिम्मेवारी समयमै पूरा गर्नुपर्ने र संयुक्त कार्यक्रमहरूमा एउटा पार्टीले अर्को पार्टीमाथि आरोप प्रत्यारोप गर्न तथा कार्यगत एकताको नीति विरुद्ध सार्वजनिक टिकाटिप्पणी गर्न नपाइने उल्लेख छ । आफ्नो अलग कार्यक्रममा पार्टी नीतिअनुरूप काम गर्न दुवै दल स्वतन्त्र हुने बताइएको छ ।

त्यस्तै, बहुजातीय/बहुलराष्ट्रिय राज्य सुहाउँदो समाजवादको नेपाली बाटो तय गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । सहभागितामूलक समावेशी लोकतन्त्र, सुशासनका लागि सरकार, संसद् र सडक सबै मोर्चामा क्रियाशील रहने दुवै नेताद्वारा हस्ताक्षरित सहमति पत्रमा उल्लेख छ ।


प्रकाशित : २०८२ श्रावण ३०, बिहीबार

प्रतिक्रिया
भर्खरै प्रकाशित