“धुलिखेल कारागारमा कैदीबन्दीले लगाएको आगो दुई घण्टापछि नियन्त्रण”


काभ्रेपलाञ्चोक । धुलिखेलस्थित जिल्ला कारागारमा कैदीबन्दीले लगाएको आगो करिब दुई घण्टापछि नियन्त्रणमा आएको छ। आज मध्यान्ह १२:०० बजे सुरु भएको आगजनी दिउँसो २:०० बजे मात्र नियन्त्रणमा ल्याइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी दिएको छ।

कारागारमा आगलागी भएपछि दमकल परिचालन गरी आगो निभाइएको थियो। साथै ठूलो संख्यामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तैनाथ गरी सुरक्षालाई कडा पारिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) कोमल शाहका अनुसार आगजनीको नेतृत्व गरेको सागर मैनालीसहित चार जनालाई असुरक्षित देखिएपछि कारागारबाट बाहिर निकालिएको हो। हाल कारागारमा रहेका दुई सय ८३ कैदीबन्दी भने सुरक्षित रहेको पुष्टि भएको छ।

कारागारभित्र नारा–जुलुस गर्दै कैदीबन्दीहरूले तुरुन्त बाहिर निस्कन पाउनुपर्ने माग राख्दै तोडफोड र आगजनी गरेको सुरक्षाकर्मीहरूले बताएका छन्। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रकाशित : २०८२ भाद्र २५, बुधबार

प्रतिक्रिया
भर्खरै प्रकाशित