“प्रधानमन्त्रीको ढिलाइले स्थिति चर्किएको कांग्रेसको आरोप”


काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले पदत्याग गर्न ढिलाइ गरेको कारण मुलुकको राजनीतिक अवस्था थप चर्किएको बताएको छ। कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो टिप्पणी गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, “सामाजिक सञ्जाल खोल्न र पदत्याग गर्न हामीले गरेको आग्रह र दबाब स्वीकार्न प्रधानमन्त्रीले ढिलाइ गर्दा स्थिति थप चर्किएको र अनियन्त्रित भएको तथ्य स्वीकार्न जरुरी छ। हाम्रो पटक–पटकको आग्रहलाई बेवास्ता गर्नु, राजनीतिक नेतृत्वले स्थितिको सही आकलन गर्न नसक्नु र अरुले दिएको सुझावलाई समयमै ग्रहण नगर्दा ठूलो मानवीय क्षति भएको छ, जसबाट सिंगो नेपाल र संसारभरका नेपाली स्तब्ध र दुःखी भएका छन्।”

कांग्रेसले जेनजी (Gen Z) पुस्ताको आन्दोलनलाई संवैधानिक बाटोमार्फत समाधान गर्नुपर्नेमा जोड दिएको छ। पार्टीले संविधान र लोकतान्त्रिक विधिबाट मात्र मुलुकलाई निकास दिन सकिने भन्दै वार्ताका क्रममा राष्ट्रपति र जेनजी पक्षलाई पनि संवैधानिक उपाय अपनाउन आग्रह गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “विधिविहीनताले थप अराजकता निम्त्याउँछ। त्यसैले नयाँ राजनीतिक संरचना बनाउँदा संवैधानिक रिक्तता र शून्यता आउन नदिन हरसम्भव वैधानिक उपाय अपनाउनुपर्छ। संविधान र लोकतान्त्रिक बाटोबाटै समाधान खोज्दै यो बेथितिको अन्त्यको मार्गचित्र तय गर्नुपर्छ, त्यसमा हाम्रो समर्थन रहनेछ।”    


प्रकाशित : २०८२ भाद्र २५, बुधबार

प्रतिक्रिया
भर्खरै प्रकाशित