पशुपति क्षेत्रमा महाशिवरात्रि तयारी तीव्र: १७१ सदस्यीय मूल समारोह समिति गठन


काठमाडौंमा मनाइने महाशिवरात्रि पर्वलाई व्यवस्थित र सुरक्षित बनाउन १७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि २०८२ को तयारी अघि बढाइएको हो।

यस वर्ष महाशिवरात्रि फागुन ३ गते परेको छ। पर्वलाई व्यवस्थित बनाउन काठमाडौं महानगरपालिका, वडा नं ८ कार्यालय तथा सरोकार भएका विभिन्न निकायका प्रतिनिधिलाई समितिमा समेटिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

कोषका अनुसार मूल समारोह समितिअन्तर्गत नौवटा विषयगत उपसमिति गठन गरी पशुपति क्षेत्रमा आवश्यक तयारी तीव्र पारिएको छ। यसैक्रममा सुरक्षा उपसमितिको बैठक शुक्रबार सम्पन्न भएको थियो।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको अध्यक्षतामा बसेको बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीको उपस्थिति रहेको थियो। बैठकमा महाशिवरात्रि पर्वका बेला सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको जनाइएको छ।


प्रकाशित : २०८२ माघ २६, आईतवार

प्रतिक्रिया
भर्खरै प्रकाशित